वैशाख २८ काठमाडौं , मैले यो लेख्दै गर्दा मेरो मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र समग्र स्वास्थ्य सेवामाथि नै अहिले गम्भीर चुनौती थपिएको छ ।नेपालको इतिहास कठिनाइ र संघर्षपूर्ण रहँदै आएको छ । तर पनि यो महामारीले हामीलाई अन्तिम सीमामा पुर्याएको छ । कोरोना संक्रमितको संख्याले स्वास्थ्य प्रणालीमाथिको दबाब बढाएको छ । आवश्यक परेका बिरामीले अस्पतालमा बेड पाउन सकेका छैनन् ।संक्रमणको ग्राफ उकालो लागिरहेको छ र संक्रमण पुष्टि हुने दर पनि बढ्दो क्रममा छ । पछिल्लो केही दिनयता दैनिक करिब आठ हजार नयाँ संक्रमित भेटिइरहेका छन् । यो संख्या करिब तीन करोड जनसंख्या रहेको मुलुकमा निकै धेरै हो । यद्यपि हाम्रो संक्रमितको मृत्युदर भने तुलनात्मक रुपमा कम छ । महामारीको समयमा अहिलेसम्म (लेख्दाको समय) सम्म गुमाएको ३ हजार ७२० जनाको ज्यान हाम्रा लागि निकै मूल्यवान छ ।
यो महामारीबाट मानिसहरुलाई बचाउन मेरो सरकारले रोकथाम र उपचारको क्षेत्रमा सबैभन्दा राम्रो सम्भाव भएसम्मको प्रयास चालिरहेको छ । संक्रमण नियन्त्रणको लागि राम्रोसँग अध्ययन गरेर विशेषगरी सहरी क्षेत्रमा लगाइएको सामाजिक गतिविधिमाथिको प्रतिबन्ध र सार्वजनिक सचेतनाका कार्यक्रम अहिले चलिरहेको छ ।
हामी अक्सिजन सपोर्ट र आईसीयू चाहिने बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने सुनिश्चित गर्ने प्रयास गरिरहेका छौं । हामीले परीक्षण, ट्रेसिङ र उपचार केन्द्रको विस्तार गर्नको लागि कदम चालेका छौं ।
यद्यपि स्रोत तथा पूर्वाधार अभावको कारण यो महामारी थेग्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले म अन्तर्राष्ट्रिय समुदायसँग मानिसहरुको ज्यान बचाउने हाम्रो प्रयासमा सहयोग गर्न हामीलाई खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरणहरु सहयोगको लागि आग्रह गर्छु । हाम्रो अहिलेको तत्कालको लक्ष्य भनेको बचाउन सकिने मानिसलाई मृत्युको मुखमा पर्न नदिनु हो ।
बेलायतको कुरा आउँदा हामीलाई यो कठिन अवस्थामा एकजुट हुने अपेक्षा पनि धेरै छ । जुन हामीलाई निकट ऐतिहासिक सम्बन्धको कारण प्राप्त भएको छ । हामी हजारौं माइल टाढा रहेका मुलुक हौं तर हाम्रो सम्बन्ध निकै बलियो र प्रगाढ छ । यो सम्बन्ध एकअर्काको मुलुकका मानिसहरुको सम्बन्धको कारण अझै बलियो भएको छ । अन्त्यमा हामी एक पारस्परिक रुपमा जोडिएको विश्वमा छौं, यो रोगको सबैलाई असर पार्छ । सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन सक्दैन ।
यो महामारीले एकपटक फेरि विश्वका धनी र गरीबबीचको अन्तरलाई उजागर गरेको छ । यो अन्तर सबैलाई खोप, चिकित्सकीय सामग्री र उपचारमा पहुँच पुर्याउँदै कम गर्न सकिन्छ । विश्वका गरीब मुलुकमा बस्ने अर्बौं मानिसलाई आफूहरुले कहिले कोरोनाको खोप पाउने हो भन्ने थाहा छैन । यी मुलुकलाई ऐक्यवद्धताको खाँचो छ ।
अन्तर्राष्ट्रिय सहयोगको मामिलामा जी–७ का मुलुकको अध्यक्षता गरिरहेको र मानव कल्याणको उपाधि जितेको बेलायत अहिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । बेलायतले आफ्नो प्रभाव देखाउँदै विश्वमा सबैभन्दा धेरै आवश्यकता भएका मुलुकमा कोरोना खोप पुर्याउन जी–७ का मुलुकलाई खोप आपूर्तिको लागि मनाउन सक्छ भन्ने नेपालको विश्वास छ ।
सन् २०२१ मा हुन गइरहेको जलवायु सम्मेलनको आयोजक मुलुकसमेत रहेको बेलायतले महत्वाकांक्षी जलवायु सम्झौता गर्ने विश्वास मेरो मुलुकलाई छ । उक्त सम्झौतामा जलवायु परिवर्तनको कारण समस्यामा परेका मुलुकलाई वित्तीय सहयोग र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिइनेछ ।
हिमालहरुमा अहिले हिउँ पग्लिने क्रम बढेको छ । जसको कारण बाढीजस्ता प्राकृतिक समस्या बढ्न सक्छ । जसको कारण नेपालले आफैंले कुनै गल्ती नगर्दा पनि जलवायु परिवर्तनको नतिजा भोगिरहेको छ । महामारीको कारण हामीले प्रमुख संवाद मञ्च सगरमाथा संवाद स्थगित गर्नुपरेको छ । यसले जलवायु परिवर्तन र हिमश्रृङ्खलाको संरक्षणमा आफ्नो ध्यान केन्द्रित गर्नेछ ।
हाम्रा शेर्पाहरु हिमाल चढ्दा गाह्रो भएका हिमाल आरोहीलाई आफ्नो अक्सिजन दिएर बचाउने मानिसको रुपमा चिनिन्छन् । अहिले कोरोनाले हाम्रो मुलुकलाई सास फेर्न गाह्रो बनाइरहेको छ र हामी अन्तर्राष्ट्रिय समुदायमा त्यस्तै ‘शेर्पा’ खोजिरहेका छौं ।
हामी अहिले विश्वभरका हाम्रा मित्रराष्ट्रसँग तत्काल आवश्यक चिकित्सकीय सामग्री, जीवन बचाउने औषधि र खोप उपलब्ध गराउन आग्रह गरिरहेका छौं । दुई चुनौतीहरु जलवायु परिवर्तन र महामारीबाट बाहिर आउने एकमात्र बाटो एकता हो । बाहिर आउने एकमात्र बाटो विश्वलाई नै एक परिवारको लिँदै एकसाथ लड्नु हो ।