दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

दशैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता हराउँदै

0

कञ्चनपुर – दशैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता हराउँदै जान थालेको छ । कृष्ण जन्माष्टमीका दिनदेखि सुरु गरिने नृत्य दशैँसम्म देखाउने चलन रहे पनि अहिले यस नृत्यलाई छाेट्याएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ । कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको कञ्चनपुरको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताउनुभयो ।’सखिया नृत्य सामूहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौँ । ‘गाउँका धेरैजसो व्यक्ति व्यावसायिक कार्यमा संलग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहुँदासमेत नृत्यको पहिला जस्तो महत्त्व नरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि अहिले सखिया नृत्य छोटो अवधिमा देखाइने अर्को कारणका रुपमा रहेको छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा बुढापाकाकोे अटुट आस्था र धार्मिक विश्वास रहेकाले अहिलेसम्म जोगाउन सकिएको उहाँले बताउनुभयो ।

थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ । गुरुवा (झाँक्रीले) तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ ।

सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ ।(रासस )

aataal sement
Comments
Loading...