सदनमा वहस चलेको छ, देशमा भष्ट्राचार रोकिनु पर्दछ तस्करी रोकीनु पर्दछ, सुशासन कायम हुनु पर्दछ, यो सरकारले खेताला मात्रै समातेको छ, मालिकहरु समात्न सकेको छैन् । त्यसैले अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्दछ, भ्रष्टाचारछानविनको लागि उच्च स्तरीय छानविन समिती बनाए मात्रै हामि सदन चल्न दिने छौं, आदी इत्यादी ।
अर्थात यो पटकको वहस ललिता निवासकाण्ड, भुटानी शरणार्थी काण्ड, सुनतस्करी काण्डहरुनै मुख्य चर्चाको विषय बनेका छन् । यतिबेला भष्ट्राचारी को हो र ? को होइन ? को वहस चलेको छ । रवि लामिछाने यो भष्ट्राचारको फाइल हाम्रो दवाबको कारणले खुलेको हो भन्न भ्याएका छन् । एमाले पार्टी सरकारले सबै भष्ट्राचारी समात्ने हिम्मत गरेको छैन् । केवल हाम्रालाई मात्र समातेको छ, भन्दछ यतिवेला एकले अर्कोलाई आरोप प्रत्यारोप र मुख पोलापोलको शत्र चलि रहेको छ । सदन चल्न दिने कि नदिनेको बहस उत्कर्षमा छ । अधिभूतवादी रोगबाट ग्रसित कार्यकर्ताहरु ‘अन्ध सम – र्थन र अन्ध’ विरोधमा जोडतोडका साथ चिच्चाइ रहेका देखिन्छन् यो आजको यथार्थता हो ।
सबै पार्टीका सबै नेतृत्वहरू अझ खासगरी मुल नेतृत्वहरु साँच्चै नै तिमिहरु इमान्दार छौ ! साच्चैनै भित्रि मनदेखिनै भष्ट्राचार निर्मल पार्न खोजेका छौँ भने भ्रष्टाचार मुक्त नेपाल चाहन्छौँ भने ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारालाई सार्थकता दिन चाहान्छौँ भने, जरैदेखी भष्ट्राचारलाई निर्मुल पार्ने तिम्रो मनशाय हो भने चली रहेको सदनबाट गणतन्त्र प्राप्त पछिका सम्पूर्ण अति विशिष्ट व्यक्तीहरुको सम्पत्ति छानविनको लागि एउटा शक्तिशाली जनलोकपालको गठन गर्ने प्रक्रिया अगाडि बढाउँ ।
सरकारी ओहदामा बसेका प्रत्यकले सम्पत्ति शुद्धीकरणको प्रमाण पत्र प्राप्त गरि आफ्नो अफिसकोठामा झुण्डाउने व्यवस्था अनिवार्य गर । किनकी को भष्ट्राचारी हो र ? को भष्ट्राचारी होइन ? को बहस निरर्थक छ । किन भने काठमाण्डौंमा बसोबास गर्ने झण्डै ७० प्रतिशत भन्दा माथिका नेताहरु भ्रष्टाचारमा संलग्न रहेका छन् । सामान्य चेतनाको कुरा हो कि कुनै नेता माननीय पनि होइन, मन्त्री पनि होइन, उसको कुनै कतै व्यापार व्यवसाय पनि छैन् ।
तर वषौँसम्म काठमाण्डौँमा हाइ प्रोफाइलका साथ बसेको छ भने सम्झनुस कि त्यसको हाइ फाइ र चुरीफुरी भ्रष्टाचारबाट प्राप्त पुँजी भन्दा अरुके हुन सक्दछ ? त्यसैले सदनमा, सडकमा, टिकटक, फेसबुक, गोष्ठी सेमीनार जही तही जताततै नेताहरुको सम्पत्ति शुद्धिकरणको अभियान चलाउन अति आवश्यक छ । वाइसियलहरु, नेविसंघहरु, युथफोर्सहरु । आफ्नो नेतृत्वको देवत्वकरणमा मात्र किन युवा शक्ति खर्च गर्ने ?
यहि नारा अर्थात शुद्धीकरणको नारा, जताततै घन्कीन पर्यो, सदनमा यहि विधेयक पारित गराउनको लागि बहस चलाउनु पर्यो । आवश्यक परे, सदन अवरुद्ध पनि गर्नु पर्यो । नेपालमा जति पनि भष्ट्राचार हुने गरेका छन् ति सबै राज्य शक्तिको दुरुपयोग गरेर मात्र हुने गरेका छन् । त्यसकारण, व्यक्तिलाई मात्रै खोजेर यो महामारीबाट पार पाउन सकिने वाला छैन् । विधिको विकास गर्न जरुरी छ, प्रत्येक नेतृत्वको शुद्धताको प्रमाण पत्र लाइ अनिवार्य बनाउन जरुरी छ ।
हामिले यो आवाज सदनमा उठाउन किन सकिरहेका छैनौं ? हामिले किन खुट्टा कमायका छौ ? के हामि भित्र पनि भ्रष्टाचारीहरु छन् भनेर डरायका छौ ? हामि त्यहासम्म पुग्ने आँट किन गर्दैनौँ ? आफ्नो संसदीय दलमा खै यो प्रस्ताव टेबल गरेको ? खै तिम्रो पार्टीले यो प्रस्ताव सदनमा टेवल गरेको ? पछिल्लो पटक जन्मिएको खासगरी युवाले विश्वास गरेको रास्वपा खै तिम्रो पोजीशन ? खै तिम्रो भ्रष्टाचारको दिर्घकालीन समाधानको विधि ? मतदातालाइ एक पटक छक्कायर मात्र पुग्छ ? यो प्रश्नमा राप्रपा खै कँहा छ ? भ्रष्टाचार अन्तको लागि उसको स्थायी समाधान बारेको प्रस्ताव के हो ?
एमाले सबै भन्दा ठूलो पार्टी ‘सदस्य संख्याका हिसावले’ कहिले सदन बन्द गर्ने भन्दछ । कहिले खोल्ने भन्दछ । यो प्रश्नमा उसको कुनै दिर्घकालीन योजना देखापरेन । उसको विचार ‘मेरो मन त दोमन भयो यता जाउकी उता’ भन्ने गित जस्तो भएको छ । यतिबेला उस्को भूमिका आतंकित, अलमल र गन्तव्यहीन जस्तो देखा परेको छ । भ्रष्टाचार समाधानको निमित्त सुन काण्डको मात्र छानवीन आयोग बनाएर हल हुने देखिदैन् ।
यता सरकारको नेतृत्व गरेको पार्टी माओवादी भित्र पनि केहि खलवल चलेको छ, त्यँहाका पनि मुख्य नेतृत्वका सहकमाण्डरहरु प्रति पनि प्रश्नहरु उठि रहेका छन् । सत्ता पक्षलाई कांग्रेस र माओवादी प्रति यो प्रश्नमा लचिलो बनेको भन्ने आरोप लागि रहेको सन्दर्भमा सबैलाई अनिवार्य शुद्धीकरणको प्रमाणपत्र बनाउँदा सबैभन्दा उत्तम हुने छ ।
त्यसको लागि सत्ता पक्ष अर्थात गठबन्धनले पनि खुट्टा कमाउन जरुरी छैन् । के हामि सबैले यस कुरामा हिम्मत गर्न सक्दछौं ? यदि हामि त्यँहा पुग्न, त्यो बाटो पछ्याउन, सम्पत्ति शुद्धीकरणको प्रमाणपत्र लिने हिम्मत गर्दैनौँ भने हाम्रो भ्रष्टाचार विरुद्धको नारा, हाम्रो सदन अवरुद्दको नारा हाम्रो सुखी नेपाली र समृद्ध नेपालको नारा दुई कौडी को बकवास मात्र हुनेछ । खाली जनतालाई भुलभुलैयामा राख्नको निमित्त गरिएका चटक मात्र हुने छ ।
अत: हामि सबैले अग्नी परीक्षा दिने हिम्मत गरौँ । सबै युवा मोर्चाहरु, सबै पार्टीका इमान्दार कार्यकर्ताहरुले यो बहस को थालनी गरौं । र सबै नेतृत्वलाई त्यँहा पुग्नेै पर्ने त्यो बाटो समाउनै पर्ने वाध्यताको सृजना गरौँ । मैले यसरी सोचे, सबैले यसरी नै सोचौं कि ?
ग्लोबल आवाजबाट