विकासका दृष्टिले जिल्लाको बुद्धभूमि नगरपालिकामा विकासका दृष्ट्रिकोणले पछि परेको वडा नं.५ लाई समृद्ध वडाको खाका तयार पार्ने लक्ष्यका साथ वडाध्यक्ष पदका उम्मेदवार रोम बहादुर थापा चुनावी मैदानमा उत्रिनु भएको छ । विगतका जनप्रतिनिधिहरुले वडाको विकासमा चासो नदेखाएका कारण आफुले उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ ।
नेकपा एमालेको तर्फबाट बुद्धभूमि ५ का वडाध्यक्ष पदका उम्मेदवार थापाले विकासका दृष्टिले पछाडी परेको वडालाई भौतिकसंगै सामाजिक रुपान्तरणमा अगाडि लैजाने दृढताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विद्यार्थीबाटै राजनीतिमा लाग्नुभएका थापा पार्टीका विभिन्न संगठनमा रही आफ्नो जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै एक कुशल नेतृत्वका रुपमा परिचित हुनुहुन्छ । थापाले वडामा अझै पनि फराकिला सडक नभएकाले वडावासीलाई समस्या भईरहेको अवस्थामा यसलाई समाधान गर्न आफु लागिपर्ने बताउनुभयो । वडाको सडक, धार्मिक तथा पर्यटन प्रवद्र्धन, शिक्षा क्षेत्र, स्वास्थ्य, कृषि लगायत धेरै विकासका काम गर्न बाँकी रहेको बताउदै थापाले वडाको समग्र विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मतदाताहरुसंग भेटघाट तथा घरदैलो गर्दै घरघर पुग्नुभएका थापाले वडावासी कृषिमा आश्रित रहेकाले कृषकहरुका लागि कृषि सामग्री, मल, औजार लगायतका सामग्री प्रदान गरि कृषिमा आत्मनिर्भर वडा बनाउने बताउनुभएको छ । त्यस्तै थापाले वडामा सुकुम्वासी समस्या समाधान, उच्च शिक्षाका लागि विशेष पहल, स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।