कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–५ नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका रोम बहादुर थापाले वडावासीलाई आफ्नै जनप्रतिनिधि भएको आभास दिलाउने बताएका छन् । भौतिक पूर्वाधारअन्तर्गत यातायातलाई बाह्रै महिना सहज बनाउँदै वडालाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको थापा बताउँछन् । थापा भन्छन्, “वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज र सरल बनाउँने छु।’ वडाबासी आम जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत गाउँ गाउँमै पुर्याएर सहजता दिलाउने आफ्नो योजना रहेको थापा बताउँछन् ।
वडावासीको हितका लागी कार्यक्रम संचालनमा ल्याएर उनीहरुको हौसला वृद्धि गर्ने थापाको भनाइ छ । उनले भने, ‘ जब संकट पर्छ आफू त्यो संकट समाधान गर्न अहोरात्र खटिएको छु, आम युवाको साथ छ अग्रजको आशीर्वाद र समकक्षीको सहयोग छ त्यसै कारण पनि म निर्वाचित हुनेमा ढुक्क छु ।’
वडा नं ५ लाई देशकै नमूना वडा बनाएर देखाउने छु, वडाबाट प्रदान गरिने सेवा सुविधा सहज र सरल बनाउने छु र साँच्चै नागरिकले आफ्नो सरकार अनि गाउँगाउँमा सिंहदरबार भएको आभास दिलाएर छाड्ने प्रतिवद्धता रहेको थापा बताउँछन् ।
युवा उद्यमशिलता कार्यक्रम संचालन गरेर युवा जनशक्ति विदेशीनबाट रोक्ने आफ्नो योजना रहेको थापाको भनाइ छ । कृषिमा आधुनिकीकरणको विकास गरेर उत्पादन दोब्बर बनाउने कार्यक्रम संचालनमा ल्याउने पनि थापा बताउँछन् ।
आफ्नो घोषणापत्र जारी गरिसके र त्यसलाई अक्षरस पूरा गर्दै आवश्यकताको आधारमा र वडाबासीको मागको आधारमा विकासको गतीलाई तिव्रता दिने थापाको प्रतिज्ञा छ ।