पोखरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कांग्रेसको लागि अति आवश्यक भएको बताएका छन्। कास्कीको पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको आवश्यक्ता प्रस्टाएका हुन्।
देउवाले गठबन्धन बनेपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको बताए। ‘गठबन्धन बनेपछि पोखराको अवस्था के छ। पार्टीको अवस्था के छरु नेपाली कांग्रेसको मुख्यमन्त्री भएको छ,’ प्रधानमन्त्री देउवाले भने। केन्द्रमा पनि गठबन्धनकै कारण कांग्रेसले सरकार पाएको उल्लेख गर्दै उनले कांग्रेसका लागि फाइदाजनक भएको बताए।
‘कांग्रेसका लागि सम्पूर्ण रुपले गठबन्धन आवश्यकता छ। गठबन्धनले हामीलाई सरकारमा ल्याएको छ’ देउवाले भने।
देउवाले गठबन्धनबारे कांग्रेसका नेता कार्यकर्ताले अनावश्यक शंकाउपशंका गर्न नहुनेसमेत बताए। यतिमात्र हैन शंकाउपशंका गर्नेलाईसमेत कारबाही हुने देउवाले चेतावनी दिए।
‘पार्टीका सबै साथीहरुले गठबन्धनमा कुनै किसिमबाट शंकाउपशंका गर्न काम गर्नै हुँदैन,’ देउवाले भने, ‘गर्यो भन्देखिन मैले तपाईँलाई भनिहाले प्रमाणित भयो भने कारबाही हुन्छ।’
देउवाले गठबन्धन बचाउनुछ भने पोखरा महानगरको मेयरमा धनराज आचार्यलाई जिताउनुपर्नेसमेत बताए। ‘गठबन्धन बचाउनु छ भने धनराज आचार्यलाई जिताउनुछ। कोपिला रानाभाटलाई पनि जिताउनुछ,’ देउवाले दोहोर्याउँदै भने, ‘गठबन्धन सबभन्दा बढी कांग्रेसलाई आवश्यक छ। यो राष्ट्रिय आवश्यकता हो।’
पोखरा महानगरमा गठबन्धनले एकीकृत समाजवादीका धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाएको छ भने कांग्रेसकी कोपिला रानाभाटलाई उपमेयरको उम्मेदवार तय गरेको छ।
शनिवारमात्र जनकपुर पुगेर देउवाले गठबन्धनविरुद्ध नबोल्न चेतावनी दिएका थिए।
‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला। निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’ जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘मेरो पार्टीमा नमान्नेलाई कारवाही गरेको छु। साधारण सदस्य खारेज गरेको छु। गठबन्धनको खिलाफमा बोल्नेलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छ। गठबन्धनलाई टिकाउनुपर्छ। यो उहाँहरुले बनाएको प्रधानमन्त्रीको कर्तव्य हो। गठबन्धनको खिलाफमा उठ्नुहुँदैन।’