रुकुम पूर्व : रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो ।
खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखिएको डीएसपी डाँगीले जानकारी दिनुभयो ।
उच्च हिमाली भागमा अक्सिजनको मात्रा कम हुने हुँदा लेक लाग्ने समस्या हुन्छ । मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि बहुमूल्य जडीबुटी यार्सा सङ्कलन सुरु भएको स्थानीयवासीले जनाएका छन् ।