रुकुम पश्चिम ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका(७ र ८ नम्बरका ३९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । लगातारको वर्षाको कारण वडा नम्बर ७ गाराका ३५ घर र वडा नम्बर ८ स्यालाका चार घर पहिरोको उच्च जोखिममा रहेका हुन् । गाउँमा निरन्तर पहिरो झर्न गाउँलेहरु थालेपछि घर छोडेर आफन्तकोमा शरण लिन पुगेका छन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष अमृत बुढाका अनुसार मङ्गलवार दिनभर पहिरोलाई हटाउनर र थप क्षति हुन नदिन प्रयास भइरहेको छ । गाउँका ३९ वटै घर खाली गरिएको समेत उहाँले जानकारी दिनुभयो । सर्वसाधारण, पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । हिजो बिहानबाट आउन थालेको पहिरो नरोकिएपछि नेपाल प्रहरीको सहयोगमा डोजर प्रयोग गरेर पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बुढाका अनुसार राडिज्युला–दाँजे–खदी–वारिङ्गे सडक खण्डबाट निस्केको माटो र ढुङ्गाको कारण राडिज्युला–गारा–सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमा पहिरो आएको हो । पहिरोको कारण वडामा रहेका चार वटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसल पुरिएको उहाँले जानकारी दिनुभयो । कतिपय घरका शौचालयहरु समेत पुरिएको बताइएको छ । गाउँमा पसेको पहिरोका कारण कतिपय कच्चीघरहरु भत्किने अवस्थामा रहेको स्थानीयले बताएका छन् । क्षतिको पूर्ण विवरण भने सङ्कलन हुनसकेको छैन ।
पहिरोले वडा नम्बर ७ को गारामा लगाइएको धान, मकै खेती र वडा नम्बर ८ को स्यालामा मकै बारी समेत बगाएको छ । सोमवार बेलुकादेखि निरन्तर परेको पानीले मकै लगाएको बारीसहित वडा नम्बर ८ स्यालाका चार वटा घर पनि पहिरोको उच्च जोखिममा परेका छन् ।
नगरका मेयर रवि केसीले वडा नम्बर ८ स्यालामा नाउलापानीको मुहान फुटेर मकै बालीमा पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भिमबहादुर बुढा र प्रविर बुढाको मकै बारीमा पूर्ण रुपले क्षति भएको छ ।
त्यस्तै खड्क बुढा, महेन्द्रकुमार बोहोरा, भिमबहादुर बुढा र हरिबहादुर बुढाको घर पहिरोको उच्च जोखिममा रहेका छन् । रातिमा पहिरो आउन सक्ने सम्भावना भएकोले पहिरो पन्छाउनको लागि डोजर तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ ।