काठमाण्डौ ।
केही समय अगाडि साइबर ब्युरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।
सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने । कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले । उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले।
योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले । कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।
अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले ।
यो घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गएको साउन २४ गते साइबर ब्युरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ गर्यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ ।
त्यस्तै गएको भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गर्यो ।
नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् । उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।
माथिको यस घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘वेबसाइट ह्याक’ गर्ने, अनधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्युरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ ।
फेसबुक, म्यासेञ्जर, भाइबर, आईएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्युरोको तथ्याङ्कले देखाएको छ । साइबर ब्युरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ ।
आर्थिक वर्ष २०७८र७९ मा मात्रै साइबर ब्युरोको कार्यालय भोटाहिटीमा ४ हजार ६ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेञ्जरमार्फत पीडित बनेका छन् । यो समस्या पीडित भएकाको सङ्ख्या ३ हजार ९ सय ५६ रहेको जानकारी साइबर ब्युरोले उपलब्ध गराएको छ ।
यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने ३ सय ७ छन् । यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या १ सय २७ रहेको छ । गएको आर्थिक वर्षमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या ४ हजार ६ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ ।
यसैगरी आर्थिक वर्ष २०७७र७८ मा फेसबुक र म्यासेञ्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या ३ हजार ४ सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । यस आर्थिक वर्षमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या ३ हजार ९ सय ६ पुगेको देखियो ।
आर्थिक वर्ष २०७६र७७ मा भने फेसबुक र म्यासेञ्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या २ हजार २ सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ। त्यस आर्थिक वर्षमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या २ हजार ३ सय १ पुगेको साइबर ब्युरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ ।
सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा कार्यालयले तीन आर्थिक वर्षमा २ सय ५८ मुद्दा दर्ता गरेको छ । फेसबुक, म्यासेञ्जर, भाइबर, आईएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्युरोले आर्थिक वर्ष २०७८र७९ मा १ सय ३२ मुद्दा दर्ता गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७र७८ मा ७६ र २०७६र७७ मा ५० वटा मुद्दा ब्युरोले जिल्ला अदालत काठमाण्डौमा दर्ता गरेको हो ।
यस तीन आर्थिक वर्षमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेर मुद्दा चलाएका १ सय ८४ पुरुष र १६ जना महिला गरी दुई सय रहेका छन् । जसमा क्रमशः आर्थिक वर्ष २०७८र७९ मा ९७ पुरुष र १५ महिला, आर्थिक वर्ष २०७७र७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६र७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए ।
यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको बताउनु भयो ।
उहाँका अनुसार–अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग ९फेसबुक, म्यासेञ्जर, टिकटक, भाइबर आदि० जोडिँदै गएका छन् । यसरी यस माध्यमबाट पीडित बन्नेको सङ्ख्यामा पनि वृद्धि भएको हो ।
उहाँले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिनुभयो । सूचना अधिकारी रायले भन्नुभयो ुअपराधबाट बच्नका लागि नागरिक आफैँ सचेत र चनाखो हुनुपर्छ।