कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । नियमित धारामा आइरहेको पानी एकाएक आउन छाडेको छ । लामो समयदेखि प्रचण्ड गर्मीसँगै वर्षा नहुँदा खानेपानीको संकट भएको हो ।
साँझ बिहान नियमित धारामा आइरहेको पानी एकाएक आउन छाडेपछि शिवराज नगरपालिकामा खानेपानीको अभाव हुन थालेको छ । लगातार ४० देखि ४५ डिग्रीसम्मको प्रचण्ड गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको हो ।
शिवराजमा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी तथा उपभोक्ता समितिले केही दिन यता धारामा पानी नपठाउँदा उपभोक्ताहरु मारमा परेका छन् । जमिनको सतह मुनिबाट पानी तानेर ट्याङ्कीमा पानी संकलन गरी उपभोक्तालाई पानी वितरण गर्दै आइरहेको खानेपानी समितिले लामो खडेरीका कारण जमिनमुनि पानीको सतह घट्दा पानी वितरण गर्न नसकेको जनाएको छ । बोरिङ्गले पानी ट्याङ्कीमा पानी थोरै पठाउँदा ट्याङ्की भरिन नै १२/१३ घण्टा लाग्ने अनि नियमित विद्युत्त आपूर्ति नहुँदा समस्या भएको चन्द्रौटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण भाट क्षेत्रीले बताउनुभयो ।
केही दिन धारामा खानेपानी पठाउन नसक्ने भएपछि ट्यांकरबाट घरघरमा खानेपानी पुर्याउन थालिएको छ । घर घरमा खानेपानी पुर्याउँदा केही सहज भए पनि दिर्घकालीन समाधान खोज्नुपर्ने उपभोक्ताको भनाइ छ ।
पछिल्लो समय नदी दोहनको क्रम बढ्नु, सिँचाइ प्रयोजनका लागि भूमिगत जलस्रोतको प्रयोगले धारा सुक्ने र चुरे क्षेत्रमा इस्काभेटर प्रयोग गरी उत्खनन गर्दा भूमिगत जल पुनः भरण प्रणालीमा समस्या हुँदै आएको छ । खानेपानीको समस्या समाधानका लागि तीनै तहका सरकारसँगै सम्बन्धित सरोकारवाला समेत जिम्मेवार बन्न आवश्यक छ ।
यो समाचार सुशील गैरेले इमिले खबरमा लेख्नुभएको छ।