बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । आइतबार विहानदेखि सिद्धबाबा नजिकै निर्माणाधित सुरुङमार्गको उत्तरतर्फरहेको प्रवेशद्वार रिप नजिकै पहिरो खसेपछि अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको भएपनि अझै केही घण्टा लाग्न सक्ने दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए । “पहिरो आज बिहान ५ बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ”-थापाले भने ।
पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए । माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।।