कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका आज औपचारीक रुपमा वालमैत्री शासन व्यवस्था सहितको पूर्ण बालमैत्री नगर घोषणा भएको छ । नेपालमा नवौँ, लुम्बिनी प्रदेशमा तेस्रो र कपिलवस्तु जिल्लामा पहिलो नगरपालिकाका रुपमा बाणगंगा नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको जनाइएको छ ।नगरपालिकालाई बालमैत्री बनाउन बालमैत्री स्थानिय शासन रणनिति २०६८, कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७० र स्थानिय सरकार संचालन ऐन २०७४ सहित बालबालिका संरक्षण निति तथा ऐन नियमावलीको आधारमा बालअधिकारका क्षेत्रहरु बाल बचाउ, बाल संरक्षण, बाल बिकास र बाल सहभागिताका सुचकहरु पुरा गरि बालमैत्री नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाको वडा नं. १ स्थित मायादेवी रिसोर्ट आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री चक्रपाणि खनाल वलदेवले कपिलवस्तुमा पहिलो पटक वालमैत्री नगर घोषणा भएको भन्दै बाणगंगा नगरपालिकालाई सफलताको शुभकामना दिनुभयो । उहाँले घोषणा मात्र गरेर नहुने भन्दै आगामि दिनमा कार्यान्वयनको पक्ष मजबुत हुनुपर्नेमा जोड दिए ।त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वालमैत्री नगर घोषणाले वालवालिका माथि हुने हिंसाको अन्त्य हुने अपेक्षा गर्नुभयो । अब नगरपालिकालाई निकै चुनौती थपिएको भन्दै कार्यान्वयनको पक्षलाई दिगोपनका साथ अगाडि बढाउन सबै पक्षलाई उहाँले आग्रह पनि गर्नुभएको छ ।
पुर्व राजदुत तथा नेपाली कांग्रेसका नेता दिप कुमार उपाध्यायले अब वालवालिका प्रति पनि दायित्व बढेको भन्दै घोषणा मात्र गरेर नहुने भएकाले सबै जनाले अब सोंच परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले बाणगंगा नगरपालिका प्रदेशमै तेस्रो नगरको रुपमा वालमैत्री नगर घोषणा भएकाले यो गौरवको बिषय बनेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेस नगर प्रतिनिधि हरिराज घिमिरे, जिल्ला समन्वय समिति प्रमुख नारायण खनाल, उप प्रमुख तारावती चौधरी लगायतले नगरपालिकालाई सफलताको शुभकामना दिनुभएको छ ।
यस्तै नगरपालिकाका मेयर मंगल प्रसाद थारुले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, सामाजिक संघ संस्था, पत्रकार लगायत सबै नगरवासीको अथक प्रयासले जिल्लामै पहिलो नगरपालिकाको रुपमा अब्बल गराउन सफल भएको भन्दै सबै निकायप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
त्यस्तै बालमैत्री शासन व्यवस्था सहितको पूर्ण बालमैत्री नगर घोषणा कार्यक्रमका फोकल पर्सन तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले बालमैत्री नगर घोषणाका लागि विभिन्न वडाहरुमा गरिएको क्रियाकलापहरुको जानकारी गराएका थिए ।मेयर थारुको अध्यक्षता, उपप्रमुख अर्यालको स्वागत मन्तब्य तथा सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनाल, सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, राजनितिक दल,वाल सहजकर्ता, वाल संजालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।