कपिलवस्तुका क्रियाशील विद्यार्थी संगठनहरुले विभिन्न ६ बुँदे मागसहित सिद्धार्थ क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल छैटौंका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोनाभाइरस अवधिभर अनलाइनको बहानामा अनावश्यक रुपमा लिइएको चर्को शुल्क तत्काल फिर्ता गर्न माग गरिएको छ ।क्याम्पस प्रशासनले प्राध्यापक, उपप्राध्यापक नियुक्ति तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा गरेको विषयमा पनि विद्यार्थी संगठनले आइतबार क्याम्पस प्रमुख खेमराज शर्माको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।क्याम्पसबाट पाउने छात्रवृत्ति गरिब, जेहन्दार, घाइते अपाङ्गलाई वितरण नगरी आफ्नो अनुकुलतामा वितरण गरिएको उनीहरुको आरोप छ । यस्तै भर्ना, मासिक शुल्क लगायत विभिन्न बहानामा गरिँदै आएको चर्को असुली कार्य तत्काल अन्त्य गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।एक हप्ताभित्र माग सुनुवाइ नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिएका छन् ।