कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले वैशाख ३० गते हुने मतदानका लागि आज राति १२ बजेदेखि मतदानको दिन राति १२ बजेसम्म सीमानाका बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले एक विज्ञप्ति जारी गरी निर्वाचन सुरक्षालाई मध्यनजर गरी सोही अवधिमा जिल्लाभर मादक पदार्थ बिक्री वितरणमा समेत रोक लगाएको जानकारी दिए ।
प्रजिअ मिश्रले मंगलबार १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपोसार, विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाईएको बताए । यदि सो प्रतिबन्ध विरुद्ध क्रियाकलाप गरेको पाईए प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले चेतावनी समेत दिए ।
मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दमकल, दूरसंचार सेवा, शव वाहन, अस्पताल सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधन र अनुमति लिएका सवारीबाहेक अन्य सेवा बन्द हुने उनले जानकारी दिए ।