कपिलवस्तु ।
मुस्लिम समुदायले मंगलबार मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम समुदायको महान पर्व रहेको मोहर्रम पछिल्ला केही बर्ष यता भने हिन्दु समुदायले पनि मनाउन थालेपछि यो सद्भावको पर्व बन्दै गएको छ ।
तराईमूलका हिन्दु, थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढ्न थालेको छ । हिन्दुहरुले समेत यो पर्व मनाउन थालेपछि मोहर्रम धार्मिक सद्भावको पर्व बन्दै गएको हो ।
तराईका हिन्दु र मुस्लिम समुदायले मोहर्रम एकसाथ मनाउन थालेका छन् । तराईका हिन्दु, मधेसी, थारुहरुले समेत यो पर्व धुमधामले मनाउन थालेपछि छुट्टै रौनकता नै रौनकता थपिएको छ ।
भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोइच्छा पूरा हुने गरेको भक्तजनहरु बताउँछन् । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ ।
मंगलबार मनाईने मोहर्रमका लागि तौलिहवाको मस्जिद टोलमा आएका महाराजगंज नगरपालिका– ८ हर्दौनाका राम सुभग यादवले २ बर्ष अघिदेखि मोहर्रम मनाउन थालेको बताए । एक हजारको तहजिया किनेका उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको जनाए ।
घर बनाएर तहजियाको पूजा गर्ने र भाकल पूरा भएपछि मोहर्रम प्रति आफूलाईको विश्वास जागेको उनले बताए । मुस्लिम दाजुभाईहरुसंगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै उनले खुसी व्यक्त गरे ।
कपिलवस्तु नगरपालिका– ९ निग्लिहवाका नाथु थारु प्रजापतिले बाजेकै पालादेखि मनाउँदै आएकाले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए।
केही बर्ष अघिसम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरुको संख्या बढ्दै गएको छ । यसले धार्मिक सद्भाव समेत कायम राख्ने दुवै धर्मगुरुहरुको भनाई छ । अहिले यो पर्वलाई मधेशका हिन्दु समुदायले समेत अंगालेकाले सद्भाव कायम गर्न यसले निकै मद्दत मिलेको अधिकारकर्मी रवि ठाकुरले बताए।
आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त चाडमा उनको प्रतिक स्वरुप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । इस्लामिक नयाँ बर्ष हिजरी संवत् सुरु भएपछि यो एक देखि १० तारिखसम्म मनाइने गरिन्छ । घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मोहर्रमका दिन करबलामा लगेर सेलाईने चलन छ ।
हिन्दुहरुले घरमा पूर्जा गर्दा ढोल, तासा लगायतको बाजा बजाउने गर्दछन् । मुस्लिम समुदायले भने मोहर्रमका दिन साहसिक प्रर्दशन गर्ने गर्छन् । १४ सय बर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरुप मोहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।
अरब देशको क्यालेन्डर अनुसार मोहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ । इस्लामिक नयाँ बर्ष हिजरी संवत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन् । मोहर्रमको १० औं तारिखलाई आसुरा भनिने तथा त्यसै मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडी पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।
यता मुहर्रम पर्वको अवसरमा मंगलबार कपिलवस्तुका अधिकांश स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेका स्थानीय पालिकाले मंगलबार सार्वजनिक विदा दिएका हुन् ।