टेकराज पौडेल, कपिलवस्तु । हिजो दिउँसो १ः ३४ मा बुद्ध एअरको ८५७ नको प्लेनमा करिब ७२ यात्री लिएर काठमाडौबाट भैरहवा आउँदै थियौ । म सिटको झ्यालतिर थिएँ ।मेरोसङ्गैको सिटमा मामा हेमराज अर्याल (अनेरास्वबियु कोषाध्यक्ष) सङ्गम अर्यालका पिता (सैनामैना झारबैराका) हुनुहुन्थ्यो ।
प्लेन पशुपति मन्दिरको उत्तरबाट उचाई लिँदै नागार्जुन माथिबाट धादिङ्गतिर पुग्दा करिब १०५०० फिटको उचाई लिइसकेको थियो। बिचबिचमा प्लेन सङ्ग ठक्कर दिने बादलका झुम्काहरुले आङ्ग सिरिङ्ग बनाइदिन्थ्यो । धादिङ्ग प्रबेश गरेपछि काठमाडौँ नारायणगढ जाने सडकको माथिबाट उडान भरिरहेको थियो । मैले झ्यालको सिसाबाट बाहिर खोला, बस्ती र हरियाली दृश्य हेरिरहेको थिएँ ।
एक्कासि मेरो आखा पन्खामा पर्यो उच्चस्पीडमा घुमिरहेको पन्खा कट्याक्क आवाज दिदै च्याट्टै बन्द भयो । मैले प्ल्याइट मोडमा राखेको मोबाइल झिकेर भिडियो खिच्न थालेँ । क्याबिन क्रुजले देखेपछि ए अन्कल के गरेको ? भन्दै भिडियो खिच्न पाउनु हुन्न भनिन् । उनले भनिन् तपाईलाई मोबाइल स्विच अफ गर्न वा फ्लाइट मोडमा राख्न भनेकि थिएँ।
मैले भिडियो बन्द गरेर अलि ठुलो स्वरमा दायातिरको इन्जिन पंखा बिग्रीएर चल्न छोड्यो भनेर मामालाई भने । मामालाई भन्दा नजिककाहरुले पनि सुने । एक दुई जना भन्दै थिए पन्खा कहिले चल्छ कहिले बन्द हुन्छ । यसबाट केहि फरक पर्दैन, भैरहवा पुगि हाल्नुहुन्छ भनेर एरोनोटिक इन्जिनियर नै हो कि झै पार्यो । उस्को कुरा सुनेर अर्को बुज्रुकले भन्यो बिमानमा दुई इन्जिन हुन्छन् एउटा बिग्रिए पनि अर्कोले थामि हाल्दछ हामी भैरहवा जान्छौँ भन्यो । यति भनिन्जेलमा पन्खा बन्द भएको करिब २ मिनेट भौसकेको थियो । मलाई उनीहरुको कुराले छोएन ।
म मेरो जीवनकालमा ८० हजार माइल अर्थात १ लाख तिस हजार किलोमीटर जेट र बडेमानका बिमान चढेको अनुभव पनि छ । एउटा पन्खा र इन्जिनको भरमा मोडै मोडबाट गुज्रने यो प्लेन भैरहवा वा चितवन झार्न मुस्किल हुन्छ भन्ने मेरो दिमागमा थियो । मैले क्याप्टेनको नजिक रहेकि क्याबिन क्रुजलाई हातको इसाराले मेरो नजिक बोलाएँ । उनी आइन् मैले मेरो झ्याल नजिकबाट इन्जिन बन्द भएको पन्खा नचलेको देखाएँ ।
उनी हतारिँदै क्याप्टेन तर्फको ढोका खोलेर भित्र पसिन् । मैले क्याबिन क्रुजलाई भन्नु अघि नजिकैका मामालाई भने हेर्नुस् अब प्लेनको इन्जिन बन्द भयो । पन्खा चल्न छोड्यो भने वहाँ पनि डराउनु भयो । धेरै हल्ला गर्दा मान्छेलाई मृत्युको आसंकाले यात्रुहरुले गर्ने कोलाहलले परिस्थिति भयाबह बन्न सक्ने हुँदा हामिले परपर सम्म पुग्ने गरि खबर गरेनौ इन्जिन बन्द भएको तिन मिनेट सम्म निरन्तर उडान भरिरहेका पाईलटले प्लेनलाई धादिङ्ग गल्छि वा धार्केभन्दा तल किनाराबाट काठमाडौतर्फ मोडे । अनि निकै तल अर्थात ३००० फिटबाट क्र्मश २०००० हजार गराउदै काठमाडौ शहरको धेरै नजिकबाट एअरपोर्टमा अबतरण गरे । मामाले मरिन्छ कि क्या हो गन्तब्यमा पुराउदैन कि भन्दै डराउनु भएको थियो ।
खोइ प्यारासुट पनि छैन भने । केहि बर्ष अघि सुर्खेतबाट जुम्ला उडानमा दुई जना युबा पाइलाट ( एक जना पुर्व मन्त्री दल बहादुर रानाको छोरा) को अबतरणको बेलाको दृश्य देख्ने र छानबिनको रेकर्ड दिमागमा खोजे । म सम्भवत प्लेन निश्चय नै अबतरण हुन्छ भन्नेमा नै थिएँ । क्याबिन क्रुजहरुको अनुहारमा पसिना र मृत्युुको भय जानिदो पाराले गुज्रिएको देखिन्थ्यो । आकशबाटै लाइभ वा अघि खिचिएको भिडियो सार्वजनिक गरौ भन्ने लाग्यो मोबाइलमा ( जि) डाटाको लागि पैसा पुग्दैन रहेछ ।काठमाडौमा रहेका साथि हेमराज सुबेदीलाई कल गरेँ बिजि आयो । प्लेन मोडेको ९ मिनेटमा काठमाडौ झार्यो । प्लेन भुइमा झरेको ५ मिनटमा मैले फेसबुकमा भिडियो सहितको स्टाटस हालेँ ।
स्टाटस हालेको ३५ मिनेटमा मेरो फेसबुकबाट स्टाटस गायब थियो । मैले मामा र अन्य यात्रीलाई फेसबुकले अघि हालेको सामाग्री झिकिदियो भने अचम्म परियो ।अनि त्यसको ५ र ६ मिनेट पछि पुन अपलोड भएर आयो । हामिलाई पौने घन्टामा बुद्ध एअरको अर्को प्लेन मार्फत भैरहवा पठायो । बाटो भरी मेरै हवाला दिदै मिडियाले प्लेन दुर्घटनाबाट बच्यो भन्दै खुबै बोलेछन । लेखेछन । भैरहवा आउँदा लुम्बिनि प्रदेशका धेरै पत्रकारले सोध्नु पनि भयो । धेरै फोन आएकोले मोबाइलमा चार्ज भ्याइयो । साँझ ५ बजे देखि ९ बजे सम्म चार्ज गर्ने अवसर मिलेन ।साथीहरु मलाई कति धेरैले फोन मेसेज र अन्य कमेन्ट गरेर शुभकामना र आशिरबात दिनुभयो । मलाई नजिकैबाट आएका यमराजका दुतहरु अब कति समयलाई हो नजिक नपर्ने भएर छोडेर गएका हुन थाहा भएन ।