कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं ४ शैक्षिक सुधार गर्ने रणनीतिमा अघि बढेको छ। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई देखेर शैक्षिक सुधारका निमित्त वडा सिर्जनात्मक र रचनात्मक ढंगले अघि बढेको हो।
वडाले शुक्रबार वडा भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, वडा शिक्षा समितिका पदाधिकारी बिच अन्तरक्रिया गरिएको थियो। शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको भूमिका, रणनैतिक योजना तथा वार्षिक कार्यक्रमको बारेमा छलफल गरिएको थियो ।
शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक चेतना बढाउनुपर्ने र विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउनुपर्नेमा जोडदिनु पर्ने प्रध्यानाध्यापकको भनाई थियो।
शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समिति सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने, एक अर्कालाई दोषारोपण नगरी सबै सरोकारवाला समन्वय सहकार्य गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने वडा अध्यक्ष सुशील कुमार चौधरीले बताउनुभयो। कार्यक्रममा वडा भित्रका २ वटा मा.वि. र ३ वटा आधारभूत विद्यालयको सहभागिता रहेको थियो ।