काठमाण्डौ : जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएको छ । जिम्बावे ‘ए’ ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले ओभरमा दुई विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८७ रन बनाए । यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए । बलिङतर्फ जिम्बावे ‘ए’ का लोके जोङ्गी र ब्रान्डन मभुताले एकरएक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायो । उसका लागि रोए कायाले ४९, तदिवान्शे मौरामनीले २७ र लुके जोङ्गेले नटआउट २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एकरएक विकेट लिए । जिम्बावे ‘ए’ का तीन जना खेलाडी रन आउट भए ।
योसँगै तीन खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । यसअघि पहिलो टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।