काठमाडौं : यो वर्ष विद्यालयको संख्या घटेको छ। शैक्षिक सत्र २०७७ को तुलनामा यो वर्ष झण्डै १५ सय को हाराहारीमा विद्यालय संख्या न्यून देखिएको छ।विद्यालय बन्द तथा समायोजनका कारण यो वर्ष विद्यालयको संख्या घटेको हो। शैक्षिक सत्र २०७७ मा कुल विद्यालय संख्या ३५ हजार ६ सय ७४ रहेको थियो। शैक्षिक सत्र २०७८ मा कुल विद्यालयको संख्या ३४ हजार ३ सय ६८ पुगेको छ ।
जसमध्ये आधारभूत (कक्षा १–५) सञ्चालित विद्यालय ३४ हजार १ सय ३८, आधारभूत (कक्षा ६–८) सञ्चालित विद्यालय १७ हजार २ सय २८ र आधारभूत (१–८) सञ्चालित विद्यालय ३४ हजार ३ सय ६ रहेका छन्। यस्तै माध्यमिक तह (९–१२) सञ्चालित १० हजार ९ सय ६२ विद्यालयमध्ये ४ हजार ३ सय १० विद्यालयमा कक्षा ११–१२ सञ्चालन भएको छ।शैक्षिक सत्र २०७८ मा ३४ हजार ३ सय ६८ विद्यालयमध्ये सामुदायिक विद्यालय २६ हजार ४ सय ५४, संस्थागत विद्यालय ६ हजार ७ सय ६० र धार्मिक विद्यालय १ हजार १ सय ५४ रहेका छन्।
यस्तै शैक्षिकसत्र २०७८ मा शिक्षकको संख्या घटेको देखिएको छ। आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार शैक्षिकसत्र २०७८ मा सामुदायीक र संस्थागत विद्यालयमा शिक्षकको संख्या २ लाख ८० हजार ७६५ रहेको छ। शैक्षिकसत्र २०७७ मा शिक्षकको संख्या ३ लाख २० हजार ५७६ रहेको थियो।शैक्षिकसत्र २०७७ मा सामुदायीक र संस्थागत विद्यालयमा शिक्षकको संख्या ३ लाख २० हजार ५७६ रहेको थियो। देशभर सामुदायीक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ७० लाख ९२ हजार ९५९ रहेको छ।यस्तै देशभर सञ्चालित २६ हजार ४ सय ५४ सामुदायिक विद्यालयमध्ये २०७८ फागुनसम्म १३ हजार ५ सय ५९ विद्यालयहरूमा कम्प्युटर सुविधा पुगेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
