बाणगंगा, १६ असार ।
बाणगंगा नगरपालिकाले विपद जोखिम न्युनीकरणका लागी आवश्यक सामग्री प्रदान गरेको छ । आज (विहिबार) एक कार्यक्रमका बीच नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमरी थारु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायत ११ वटै वडाका वडाध्यक्षको उपस्थितिमा उक्त सामग्री ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.लाई हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख अर्यालले भारी बर्षाले निम्ताउने विपत जोखिमलाई यस्ता साम्रगीले न्युनीकरण गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘अहिले बर्षाको समय छ, यो बेला यस क्षेत्रका कतिपय ठाउँमा डुवान हुने, घरमा नै बाढी पस्ने समस्या विगतदेखि नै आउने गरेको छ ।’ उनले भने, ‘यस्ता समस्यालाई समाधान तथा न्युनीकरणका लागी हामी सबै अहिलेबाट नै सचेत हुनुपपर्छ ।’
जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन उनले आग्रह गरे । प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले हरेक क्षेत्रकोे आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तयारी अवस्थामा रहन आग्रह गरे । यो बर्षाको समयमा सबै सजक हुनुपर्ने आवश्यकता औंल्याउदै बढी, पहिरोले विगतमा हुने गरेका क्षतिलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।
उनले बाणगंगा नदी वरपरका क्षेत्रमा हुने डुवानसंगै अन्य जोखिमलाई ध्यानमा राखेर त्यस क्षेत्रका मानिसलाई अहिले नै सचेत गराउनुपर्ने बताए । प्राकृतिक विपत्ति जुनसुकै समयमा आउन सक्ने भएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्युनीकरणमा नगरपालिकाले सक्दो पहल कदमी चाल्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.ले नगरपालिकाले विपत जोखिम न्युनीकरणमा चासो देखाएर त्यसका लागी सामग्री उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरे । नगरपालिकाले प्रहरीलाई लाईफ ज्याकेट ८ थान, बमबुट ५ सेट, रसी १ रोल र ४ थान ट्युब उपलब्ध गराएको उनले जानकारी दिए ।