बर्दिया । ‘बाघ बरु मर्छ कहिल्यै घाँस खाँदैन’ भन्ने नेपाली समाजमा उखान छ । बाघको विचरण क्षेत्र ठूलो हुनुपर्छ । एक दिनमा बाघले झन्डै १० किलोमिटर हिँडडुल गर्छ । एउटा वयस्क बाघलाई एकपटकमा कम्तीमा १५/१६ किलो मासु चाहिन्छ । नेपालमा अहिले बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेका हुन् । बाघ बढेसँगै बासस्थानको विस्तार र उसको आहार प्रजातिको संख्या बढाउने चुनौती नेपालसामु चुनौतीपूर्ण ढंगले देखापरेको छ ।
वन्यजन्तुको संरक्षणमा लागेका बर्दिया मधुवन नगरपालिका ३, खाताका भदै थारूको एउटा आँखा ०६० सालमा बाघको आक्रमणले नष्ट भयो । एउटा आँखा गुमाए पनि थारूको दृष्टि गुमेन । जनावरप्रतिको माया पनि घटेन । उनी अहिले पनि वन्यजन्तु संरक्षणमै जुटिरहेका छन् ।
‘कहिलेकाहीँ मान्छे हिँड्दा हिँड्दै खुट्टामा ठेस लागेर लड्छ । म त एउटा संरक्षणमा लागेको थिएँ । हुन्छ जम्काभेटमा । यस्तो घटना धेरै भएको छ,’ संरक्षणकर्मी भदै थारू भन्छन्, ‘त्यसकारण यसको बासस्थानमा चाप भयो । बाघ शान्तसँग बस्ने प्राणी हो भनेर यसको संरक्षणमा लागे ।’
बर्दिया ठाकुरबाबा नगरपालिकाका हेमन्त आचार्य जैसीको बुबा ओमप्रसादको मृत्यु पनि जंगली हात्तीको आक्रमणबाटै भयो । तर हेमन्त विगत दुई दशकयता वन्यजन्तुको संंरक्षणमै संलग्न छन् ।
‘युवाहरू कसरी पर्यटन र यहाँको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्वको सही व्यवस्थापन गर्न सकिन्छ भनेर करिब १५ वर्षदेखि अहिलेसम्म निरन्तर संरक्षणको गतिविधिमा लागेको छु,’ ठाकुरद्वाराका संरक्षणकर्मी हेमन्त आचार्यले भने, ‘वन्यजन्तुपीडित भए पनि सबै पीडितहरूसँगै मिलेर अरू नयाँ मान्छेहरूलाई पनि यो संरक्षणको अभियानमा लगाउँदै काम गरिरहेको छु ।’
विश्व समुदायमा नेपालको तराई भूपरिधि निकै लोभलाग्दो र बाघका लागि उर्वर भूमिका रूपमा रेखांकित छ । सन् २०१० यताको अवधिमा नेपालमा २३४ वटा बाघ बढ्यो । अहिले देशभर बाघको संख्या ३५५ पुगेको छ ।
बाघ बढेको खुसी त एकातिर छँदै छ तर यो अवधिमा बाघको आक्रमणबाट नेपाली समाजले ठूलो संख्यामा मानिस गुमायो । १० वर्षको अवधिमा ८० जनाको बाघको आक्रमणमा परेर ज्यान गयो । वन्यजन्तुको संख्या वृद्धिमा एक हदसम्म नेपालले आफ्नो लक्ष्य पूरा गरे पनि अबको कार्ययोजना तिनै वन्यजन्तुबाट पीडित हुनुपर्ने स्थानीय बासिन्दाको सुरक्षा, खेतीप्रणालीमा सुधार तथा जीविकोपार्जनको व्यवस्थामा केन्द्रित हुनुपर्नेछ ।
‘आफ्नो व्यवहारलाई हामीले परिवर्तन गर्नुपर्ने हुन्छ । जस्तो हामी सामुदायिक वनहरूमा कुनै वन पैदावार संकलन गर्न जाँदा त्यहाँ बाघहरूले आफ्नो बासस्थान बनाएर बसेको अवस्था हुन सक्छ,’ स्थानीय शिक्षक एवं संरक्षणकर्मी वासुदेव भट्टराईले भने, ‘त्यो बेलामा हामीले अलिकति होसियार अपनाउन सकेनौं भने बाघको सिकार हुन सक्छौं ।’
निकुञ्जभित्र बाघ पाल्न सक्ने वातावरण तयार गर्नुपर्ने चुनौती त एकातिर छँदै छ, अर्कातिर बढ्दो चोरीसिकार नियन्त्रण गर्न सक्नु झन् जटिल काम हो ।
‘बाघहरू बाहिर निस्केर मानिसलाई दुःख दिएको धेरै कम घटना छ । किनभने हामीले थुप्रै घाँसे मैदानको व्यवस्थापन गरेका छौं । थुप्रै पानी पोखरीहरूमा सोलार पम्पहरू जोडेर त्यसलाई रिचार्ज गर्यौं । त्यसकारण पानी सुक्ने मौका पाएन,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले भने ।
बाघ केका लागि ? बाघ महत्त्वपूर्ण कि मानिस ? यी दुई सवाल सधैं उठ्ने गरेका छन् । मानव र बाघबीचको सह–अस्तित्व नै अहिलेको मुख्य कार्यभार भएकाले सरकारले आफ्ना रणनीति बनाउँदा सह–अस्तित्वको रणनीति र कार्यदिशा दिन सक्नुपर्छ ।
कान्तिपुर टिभि डट कम बाट